सिरहा । भारतबाट अवैधरूपमा लागुऔषध ओसारपसार गर्दै ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त टोलीले लहान नगरपालिका १७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वैशाख २४ गते बिहान करिब ४:३० बजे भारततर्फबाट आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्दा ठूलो मात्रामा लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका १५ निवासी २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका १६ निवासी २२ वर्षीय जितेन्द्र यादव रहेका छन् । उनीहरूको साथबाट INEREX १०० एमएल लेखिएको कुल ४४३ बोतल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषध दुई वटा बोरामा राखिएको अवस्थामा दुवै युवाको साथबाट क्रमश: १२०/१२० बोतल फेला परेको थियो । थप अनुसन्धानका क्रममा नजिकै लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका थप दुई बोराबाट क्रमश: ११३ र ९० बोतल बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट प्रयोग गरिएको दुई थान मोटरसाइकल (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र दुई थान मोबाइल (रेडमी र रियलमी) समेत बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनामाथि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै लागुऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ र यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।




