धनुषा । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति जनकपुरधाम उपमहानगरपालिका २३ निवासी ५५ वर्षीय रामदहिन महतो उर्फ गुजरा महतो रहेका छन् ।
महतोले गएको चैत २ गते चक्कु प्रहार गरी सोही स्थानका १८ वर्षीय आशु यादवलाई गम्भीर घाइते बनाएका थिए । यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो । सो घटनामा अर्का युवक रूपेश कुमार यादव समेत घाइते भएका थिए ।
घटनापछि फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले धनौजी गाउँपालिका ४ बाट सोमबार पक्राउ गरेको हो । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ ।




