रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल नजिक सशस्त्र प्रहरीको मोटरसाइकलसँग ठोक्किँदा गम्भीर घाइते भएका स्थानीय अनुठा यादवको उपचारको क्रममा मृत्यु भएको छ ।
बुधबार दिउँसो भएको उक्त दुर्घटनामा फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादव गम्भीर घाइते भई गण्डक अस्पताल, वीरगञ्जमा उपचाररत रहँदा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएका थिए । बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भारतीय नम्बरको मोटरसाइकल (BR 300-7936) बीच पुलको २०० मिटर पूर्वतर्फ ठोक्किएको थियो ।
तस्करको पछाडाबाट लागेको आरोप
दुर्घटनाको दिन दिउँसो साढे ३ बजे भन्सार छलिएको किराना सामान बोकेको ग ४प ४०७३ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले रोक्न खोज्दा तस्करले तीव्र गतिमा मोटरसाइकल कुदाउँदै भागेको र त्यसको पिछा गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि तस्कर फरार भएका छन् । दुर्घटनामा भारतीय मोटरसाइकलका पछाडि सवार ४० वर्षीय जिनिस साह सामान्य घाइते भएका छन् ।
स्थानीयको आक्रोश, प्रदर्शन र झडप
दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीलाई निर्घात कुटपिट गरेको र इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीमाथि समेत हातपात भएको प्रहरीले जनाएको छ । घटनापछि लालबकैया पुल भएर जाने बाटो अबरुद्ध पार्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनसमेत गरिएको थियो ।
पछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओमप्रकाश यादवको कमाण्डमा खटिएको टोली तथा सशस्त्र बेस क्याम्पका प्रहरीहरूको सहयोगमा स्थानीयलाई सम्झाई बुझाई गरेर बाटो खुलाइएको थियो । तीन वटै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संसदमा उठ्यो मुद्दा
घटनापछि आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार संसदमा आवाज उठाउँदै सशस्त्र प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । उनले तस्कर पक्राउ गर्ने नाममा कमिसनको लोभमा जबर्जस्ती दुर्घटना गराउने प्रवृत्ति बढेको भन्दै दोषीमाथि कडा कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
सशस्त्र प्रहरीको प्रतिक्रिया
सशस्त्र प्रहरी बल मधेस प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले घटनाको अनुसन्धान भइरहेको बताउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइने बताएका छन् । उनले कुराकानीमा अनुसन्धानको निष्कर्ष अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विश्वास दिलाएका छन् ।




