सिरहा । सिरहाको लहान बजारमा सञ्चालनमा रहेका धेरैजसो पसलहरू व्यवसाय दर्ता, नवीकरण, खरिद–बिक्रीको बिलबिजक तथा मूल्यसूचीबिना नै सञ्चालनमा रहेको पाइएको छ । इलाका प्रशासन कार्यालय लहान र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको संयुक्त बजार अनुगमनका क्रममा लहान बजारका व्यवसायिक अनियमितता उजागर भएका हुन् ।
अनुगमनका क्रममा धेरै पसल व्यवसाय दर्ता नै नगरिएको अवस्थामा भेटिए भने कतिपयले दर्ता गरेपनि नवीकरण नगरेको, मूल्यसूची नराखेको र ग्राहकलाई बिलबिजक नदिएको पाइएको छ । यसरी कानुनको उल्लङ्घन गर्दै व्यापार सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई अनुगमन टोलीले जरिवाना तथा चेतावनीसहित सचेत गराएको छ ।
अनुगमनको क्रममा अनिता जनरल स्टोर्सलाई २० हजार रुपैयाँ, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकका लागि सामान्य चेतावनी दिँदै सचेत गराइएको छ ।
अनुगमन टोलीले ती पसल सञ्चालकहरूलाई तीन दिनभित्र मूल्यसूची अनिवार्य रूपमा पसलमा टाँस्न र आवश्यक कानुनी कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिएको छ । यदि तोकिएको समयभित्र सुधार नभएमा कानुनअनुसार कारबाही हुने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयालले चेतावनी दिएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, वीरगञ्जका प्रतिनिधि मधुरेशप्रसाद साहका अनुसार यो पहिलो चरणको अनुगमन भएकाले अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीहरूलाई हाललाई चेतावनी मात्र दिइएको हो । तर आगामी चरणको अनुगमनदेखि यस्तो कार्य दोहोरिएमा कानुनी दायरामा ल्याएर आवश्यक कारबाही गरिने उनले बताए । साथै, उनले व्यवसायीहरूलाई इजाजतपत्र प्राप्त गरी मात्र सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न निर्देशन समेत दिएका छन् ।
अनुगमन टोलीमा वीरगञ्जको उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान, जिल्ला उद्योग वाणिज्य संघ सिरहा र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सहभागी थिए । पछिल्लो समय देशभर स्थानीय बजारहरूमा देखिएको अनियमितता, अनुगमनको अभाव र व्यवसायिक अनुशासनको कमीलाई मध्यनजर गर्दै लहानमा गरिएको यो संयुक्त अनुगमनले बजार अनुशासन कायम गर्न सन्देश दिने अपेक्षा गरिएको छ ।




