सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालको लापरबाहीका कारण एक सुत्केरी महिलाको ज्यान गएको आरोप मृतक परिवारले लगाएको छ । मिर्चैया नगरपालिका ११ सीतापुरकी करिब ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
परिवारका अनुसार रामकाशीलाई शुक्रबार बिहान सुत्केरी व्यथा लागेपछि गोलबजारको बर्धमान अस्पताल लगिएको थियो । दिउँसो करिब १२ बजे शल्यक्रिया (सिजेरियन) गरी उनले छोरालाई जन्म दिएकी थिइन् । यो उनको तेस्रो सन्तान हो ।
शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले पटक–पटक रिफर गरिदिन आग्रह गरेपनि अस्पतालले ‘यहाँ ठीक हुन्छ’ भन्दै समय घिसारिरहेको परिवारको आरोप छ । अवस्था गम्भीर भएपछि शनिबार बिहान करिब २ बजे मात्र उनलाई विराटनगरस्थित अस्पतालतर्फ रिफर गरिएको थियो ।
तर, गोलबजारबाट विराटनगर लाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । शनिबार बिहान ५:३० बजे न्युरो अस्पताल, विराटनगरले उनलाई मृत घोषित गर्यो । मृतकका श्रीमान् सन्त यादवका अनुसार, “हामी राति २ बजे अस्पतालबाट निस्कियौं, ५ बजे विराटनगर पुग्यौं । तर, चिकित्सकहरूले अस्पताल आइपुग्नुअघि नै बिरामीको मृत्यु भइसकेको बताए ।”
सन्तका अनुसार शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएको थियो । “अस्पतालले रगत ल्याउन भन्यो, हामीले ल्याएर पनि दियौं । तर उपचारमा गम्भीरता देखिएन,” उनले भने । “हामीले समयमै रिफर गर्न पटक–पटक अनुरोध गर्यौं, तर अस्पतालले बेवास्ता गर्यो ।”
रामकाशीका नवजात छोराको अवस्था भने सामान्य रहेको छ । मृत्युपछि आक्रोशित परिवारजनले बर्धमान अस्पताल अगाडि शव राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनपछि प्रहरीले अस्पताल सञ्चालक समेत रहेका शल्यक्रिया गर्ने डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहले घटनाको अनुसन्धान भइरहेको र यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । घटना बारे प्रतिक्रिया लिन खोज्दा अस्पताल सञ्चालक डा. यादव भने सम्पर्कमा आउन चाहेनन् ।




