सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तजनले शनिबार बिहान अस्पताल घेराउ गरेका छन् ।
मिर्चैया नगरपालिका ११ सितापुर गाउँकी ३० वर्षीया रामकाशी यादवलाई शुक्रबार राति सुत्केरी व्यथाले च्यापेपछि बर्धमान अस्पताल भर्ना गरिएको थियो । अस्पतालका डाक्टर तेजशंकर यादवले ‘सामान्य तरिकाले बच्चा जन्माउन नसकिने’ भन्दै शल्यक्रिया (सी–सेक्शन) गरेपछि रामकाशीले तेस्रो सन्तानका रूपमा छोराको जन्म दिएकी थिइन् ।
छोरा सकुशल जन्मिए पनि मध्यरातदेखि रामकाशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गयो । उनका पति सन्त यादवका अनुसार अवस्था बिग्रँदै गएपछि उनले बारम्बार डाक्टरलाई बिरामीलाई तत्काल रेफर गर्न आग्रह गरेका थिए । “मैले धेरैपटक भनेँ– यहाँ उपचार सम्भव छैन, छिटो रेफर गरिदिनुस् । तर डाक्टरले ‘केही हुँदैन’ भनेर अल्झाइरहे,” सन्त यादवले भने ।
अन्तत: राति २ बजे रामकाशीलाई बिराटनगरस्थित न्युरो अस्पताल रेफर गरियो । तर अस्पताल पुग्नुअघि नै बाटोमै उनको मृत्यु भयो । शनिबार बिहान ५ बजे बिराटनगर पुगेपछि त्यहाँका चिकित्सकले रामकाशीलाई मृत घोषणा गरे ।
“शरीरबाट अत्यधिक रक्तस्राव भयो, त्यसैले रगत चढाउन भनियो,” सन्त यादवले भने, “हामीले रगत जुटाएर ल्यायौं पनि, तर उचित उपचार पाउन सकेनिन् । मेरी पत्नीको ज्यान लापरवाहीले गयो ।”
मृतकको शव अस्पतालको गेट अगाडि राखेर परिवार र आफन्तजनले प्रदर्शन गरेपछि सुरक्षाको दृष्टिले इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका नायव प्रहरी उपरीक्षक (डीएसपी) बीरेन्द्र पासवान समेत घटनास्थलमा पुगेका छन् ।
प्रदर्शनको चर्को दबाबपछि शल्यक्रिया गर्ने डाक्टर तेजशंकर यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोविन्द साहले घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको बताए । बर्धमान अस्पतालमा यो पाँच महिनामा सुत्केरीको मृत्यु भएको दोस्रो घटना हो ।
यसअघि पनि शल्यक्रियापछि एक सुत्केरीको मृत्यु भएको थियो, जसले अस्पताल प्रशासनप्रति प्रश्न उठाएको छ । मृतकका परिवारले अस्पताल र संलग्न चिकित्सकमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।




