धनुषा । धनुषा जिल्लाको कमला नगरपालिका ५ मा भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २७ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
शनिबार दिउँसो राम कुमार सहनीको घरमा अचानक लागेको आगो फैलिँदै नजिकैको पसलसहित अन्य सात घरमा समेत पुगेको थियो । प्रभावित घरधुरीहरूमा सोही स्थानका ४० वर्षीय श्रवण सहनी, २८ वर्षीय विरेन्द्र सहनी, २५ वर्षीय दिलिप कुमार सहनी, ६१ वर्षीय बिहारी सहनी, ६५ वर्षीय सोनेलाल सहनी, फुलकुमार सहनी र सिताराम सहनी रहेका छन् ।
आगलागीबाट घर, पसल, लत्ताकपडा, अन्नपात, नगद तथा अन्य सामग्री जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीको कारण यकिन भइसकेको छैन भने स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार घटनाको थप विवरण र क्षतिको यकिन मूल्याङ्कन प्रक्रिया जारी छ ।




