पर्सा । बहुदरमाई नगरपालिका ८ रामनगरीमा आइतबार दिउँसो भीषण आगलागी हुँदा तीन घरधुरीमा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तुलसी राउत अहिरको घरमा विद्युत सर्ट भएर आगो लागेको र आगोले नजिकैका महिन्द्र यादवको घर तथा धानको भकारी र नन्दु रामको धानको भकारी समेत पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
अचानक लागेको आगो फैलिँदै जाँदा घरसँगै भण्डारण गरिएको अन्नपात, घरायसी सामग्री, भकारी र निर्माण सामग्री समेत जलेका छन् । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।
घटनाको कारण विद्युत सर्ट मानिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनाले आगलागी नियन्त्रण र सावधानीका उपायहरूमा अझ व्यापक जनचेतना आवश्यक रहेको देखिएको छ ।




