धनुषा । सार्वजनिक इनारको पानी खान अदालतको आदेश आवश्यक पर्छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर, यस्तै घटना भएको छ धनुषाको बटेश्वर गाउँपालिका ५ मा, जहाँ एउटै गाउँमा रहेको सार्वजनिक इनारबाट पानी खान दिइएन भनेर दुई वर्षसम्म एक परिवारले न्यायको ढोका ढकढक्याउनुपर्यो ।
घटना २०७६/०७७ सालतिर सुरु भएको हो, जब वडा नम्बर ४ को योजनाबाट सार्वजनिक इनार निर्माणका लागि बजेट विनियोजन भयो । स्थानीय भेलाले बटेश्वर ४ र ५ का करिब १५ घरधुरीले इनारको पानी प्रयोग गर्न पाउने सहमति गर्यो । सहमति अनुसार १४ परिवारले इनार निर्माणपछि नियमित रूपमा पानी प्रयोग गरिरहेका छन् ।
तर, सोही क्षेत्रमा बसोबास गर्ने रामपुजन यादवको परिवार भने त्यस इनारको पहुँचबाट वञ्चित रहँदै आएको छ । यादव परिवारका अनुसार उनीहरूले सहमतिअनुसार इनारको सरसफाइका लागि तीन हजार रुपैयाँ बुझाउने प्रतिवद्धता जनाए पनि नजिकै बसोबास गर्ने जग्गादाता रामसेवक साहले पैसा लिन नमानेर मोटर जोड्न पनि दिएनन् ।
स्थानीय छलफलबाट समाधान ननिस्किएपछि यादव परिवारले प्रहरी कार्यालयमा पुगेर उजुरी गरे । तर, वारम्बारको मध्यस्थता प्रयास विफल भएपछि बटेश्वर गाउँपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १३ गते यादव परिवारलाई इनारको पानी प्रयोग गर्न दिने निर्णय गर्यो । न्यायिक समितिको निर्णयमा “हालका व्यक्तिहरुले वार्षिक तिरिरहेकै शुल्क तिरी मोटर हालेर पानी खान दिनु” भनी स्पष्ट गरिएको थियो ।
तर, उक्त निर्णय कार्यान्वयनमा आएन । त्यसपछि यादवले उच्च अदालत जनकपुरमा २०८१ पुस ३ गते रिट दायर गरे । अदालतले भोलिपल्टै अन्तरिम आदेश जारी गर्दै अन्य व्यक्तिहरूले जस्तै यादव परिवारलाई पनि इनारको पानी उपभोग गर्न दिनु भन्ने आदेश दियो ।
तर, अदालती आदेशपछि पनि साहको अडान नरमाएपछि अदालतमा अवहेलना मुद्दा दर्ता गरियो । सो मुद्दामा हालसम्म तीन पटकसम्म पेसी स्थगित भइसकेको र अबको सुनुवाइ जेठ ६ गते तोकिएको यादवले जनाएका छन् ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार उक्त इनार निर्माणका क्रममा सरकारी बजेट अपुग भएपछि साहले केही आर्थिक सहयोग गरेका थिए । साहको भनाइमा, “जमिन मेरो हो, पैसा पनि मैले दिएको छु । सरसफाइमा म नै लाग्छु, त्यसैले अरुले जथाभावी पानी उपभोग गर्न पाउँदैनन् ।” यादव परिवार हाल घरमै रहेको हातेपम्प सुक्खा भएपछि चार सय मिटर टाढाबाट पानी बोक्न बाध्य छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, बटेश्वर गाउँपालिकाका २८.५ प्रतिशत जनसंख्याले अझै पनि खुला इनारको पानी प्रयोग गर्दै आएका छन् । तर, सार्वजनिक स्रोतमा पहुँच नपाउनु आजको दिनमा पनि एउटा परिवारको जीवनस्तरमा कति असर गर्छ भन्ने कुरा यो घटनाले उजागर गरेको छ ।




