रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको मात्र ६ महिना नपुग्दै एक मुस्लिम नवविवाहित महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ । माइती पक्षले दाइजोको कारण योजनाबद्ध हत्या गरिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र कडा कानुनी कारबाहीको माग गरेका छन् ।
कटहरिया नगरपालिका ३ बड़ेरवा टोल स्थायी घर भइ हाल कटहरिया ५ स्थित बजार क्षेत्रमा बसोबास गर्दै आएका अहमद राय भाटका छोरा अरमान राय भाटकी पत्नी २१ वर्षीया सानिया प्रविनको शव आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो ।
पोष्टमार्टमपछि मृतक सानियाको शव उनकी आमा कायमा खातुनले बुझेर अन्त्येष्टि गरेकी छन् । खातुनका अनुसार सानियाको विवाह करिब ६ महिना अघि मुस्लिम परम्परा अनुसार अरमान राय भाटसँग भएको थियो । उनका अनुसार विवाहपछिदेखि नै ज्वाईं अरमानले दाइजोको लागि छोरी सानियालाई लगातार मानसिक र शारीरिक यातना दिने गरेका थिए ।
‘सानियाले ज्वाईंको यातना सहन सकिनन् । त्यसैले उनले योजनाबद्ध हत्या गरी आत्महत्या जस्तो देखाइएको हो,’ खातुनको आरोप छ । उनले सानियाको हत्या भएको दाबी गर्दै अरमान राय भाट र उनका परिवारलाई कानुनी कठघरामा ल्याउन माग गरेकी छन् ।
मृतकका माइती पक्षले छोरीको हत्या भएको दाबी गर्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको जानकारी दिए । तर ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हालसम्म जाहेरी दर्ता नभएको बताउँदै घटना शंकास्पद रहेको र अनुसन्धानपछि मात्र यकिन भन्न सकिने बताएका छन् ।
घटना गम्भीर र संवेदनशील रहेकाले विस्तृत अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रहरीको भनाइ छ । स्थानीय समाजमा यो घटनाले स्तब्धता ल्याएको छ भने महिला हिंसाविरुद्ध आवाज उठाउने समूहले पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्न थालेका छन् ।




