बारा । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि नगरप्रमुख किशोरी साह कलवारले कुटपिट गरेका छन् । कानुन विपरीतको भुक्तानी गर्न अस्वीकार गरेपछि जयसवाललाई घरमै बोलाई आक्रमण गरिएको पीडितको आरोप छ ।
घटनामा संलग्न मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौं सिंहदरबार क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ । यद्यपि मेयर कलवार र वडा नम्बर ४ का सदस्य दीपेन्द्र गुप्ता भने फरार छन् ।
प्रमुख प्रशासकीय अधिकृत जयसवालले मेयर किशोरी साह कलवार, वडा सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफी यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् । बाराका एसपी सन्तोष तामाङका अनुसार मेयरविरुद्ध उजुरी परे पनि अहिलेसम्म मुद्दा प्रक्रिया अगाडि बढाइएको छैन र अनुसन्धान जारी छ ।
कानुन विपरीत रकम भुक्तानीको दबाब
जयसवालका अनुसार यस वर्षको प्रसिद्ध पाँचवर्षे गढीमाई मेला अन्तर्गत अतिथि सत्कार र नगर सरसफाइ शीर्षकमा कार्यपालिकाले १० लाख रुपैयाँ मात्र स्वीकृत गरेको थियो । तर मेयर कलवारले मेलाको नाममा २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएका थिए ।
यस्तै, बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोहमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिएको जयसवालको भनाइ छ ।
गत १६ गते बिहान १० बजे मेयर कलवार र समारोह अगुवा ममता शर्माले फोनमार्फत छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा ममता शर्माको नाममा १० लाखसहित करिब ७१ लाख रुपैयाँ भुक्तानीको माग गरिएको थियो ।
कानुनी प्रक्रिया पूरा नगरी भुक्तानी गर्न नमिल्ने जवाफ दिएपछि मेयर र उनका समर्थकले जयसवालमाथि अन्धाधुन्ध कुटपिट गरेको पीडित अधिकृतको आरोप छ ।
कर्मचारी आन्दोलनमा, सेवा पूर्ण ठप्प
प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । आक्रोशित कर्मचारीहरूले नगरपालिका सेवा पूर्ण रूपमा बन्द गरेका छन् । सेवाग्राहीहरू दैनिक काम लिएर गएका भए पनि रित्तो हात फर्कन बाध्य भएका छन् ।
उपमेयरको गम्भीर आरोप
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी साह कलवारले भ्रष्टाचार गर्न खोजेको र नगरपालिकाका कर्मचारीलाई व्यक्तिगत नोकरझैँ व्यवहार गर्ने आरोप लगाएकी छिन् ।
उनले भनिन्, ‘नगर कार्यपालिका बोर्डमा रहेका २१ मध्ये २० जना सदस्य हामीसँग भए पनि मेयर कलवारले नगरको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति ठान्दै मनपरी गर्ने गरेका छन् ।’
सिम्रौनगढ नगरपालिकामा देखिएको यो प्रकरणले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाटै कर्मचारीमाथि हुने दमन, कानुन विपरीतको दबाब र भ्रष्टाचारको प्रयास उजागर गरेको छ । अब पीडितले उजुरी दिए पनि प्रहरी प्रशासनको निष्पक्षता र तत्परतामाथि प्रश्न उठेको छ ।
दोषीलाई कानुनी दायरामा ल्याइएर पीडितलाई न्याय दिलाउन नागरिक समाज, कर्मचारी युनियन र स्थानीय तहका सरोकारवाला निकायहरू दबाब सृजना गर्न थालेका छन् ।




