रौतहट । बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ । चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना भएको हो ।
बा २ झ ४३५४ नम्बरको मेयरको स्कार्पियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोकदेखि करिब २०० मिटर उत्तरतर्फ सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
दुर्घटनामा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाडी चालक, सिम्रौनगढ १ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोट लागेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको नेतृत्वमा टोली खटिएको थियो । गाडीमा चालक मात्र सवार रहेको र मेयर किशोरी प्रसाद कलवार उक्त समयमा गाडीमा नभएको प्रहरीले स्पष्ट पारेको छ ।




