वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका २१ स्थित परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १५ ग्राम पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ बस्ने २२ वर्षीय मुस्तफा अन्सारी रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्सारी बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । सोही क्रममा संदेहका आधारमा जाँच गर्दा उनलाई ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित फेला पारिएको हो ।
पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ गरिएको लागूऔषधको परिमाण र प्रकार परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा पठाइएको बताइएको छ ।




