रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईका अनुसार मृतकको परिचय खुल्न नसकेको र दुर्घटनामा संलग्न सवारी साधनको पनि हालसम्म पहिचान हुन सकेको छैन ।
डिएसपी राईका अनुसार राति करिब १० बजे राजमार्गको चन्द्रपुर ४ खण्डमा युवक घाइते अवस्थामा फेला परेका थिए । तत्काल प्रहरी गस्ती टोलीले उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल पठाएको थियो । तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
‘राजमार्गमा गुडिरहेको कुनै सवारी साधनबाट लडेर दुर्घटना भएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ,’ डिएसपी राईले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले मृतक युवकको पहिचान खुलाउन सहयोग गर्न आग्रह गर्दै चिन्न सक्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।




