महोत्तरी । गौशाला नगरपालिकाभित्र बहने मरहा नदीमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन मौलाएको छ । ठेक्का प्रक्रिया बिना नै क्रसर उद्योगहरूले नदीमा गहिरो खाल्डो खनी बालुवा, गिट्टी लगायतका सामग्री बिक्री वितरण गरिरहेका छन् ।
नदी उत्खननको अधिकारसम्बन्धी जिम्मेवारी बोकेको गौशाला नगरपालिकाकै सरोकारवालाहरूको संलग्नतामा क्रसर उद्योगलाई छुट दिइएको पाइएको छ । अनुगमनको नाममा देखावटी प्रक्रिया मात्र अपनाइने र अवैध उत्खननमा प्रयोग भएका सवारीसाधनलाई कारबाही नगरी उन्मुक्ति दिने गरेको प्रमाण भेटिएको छ ।
नदी किनारमा सञ्चालित क्रसर उद्योगहरूले नम्बर प्लेट नभएका एक्स्काभेटर र टिपर प्रयोग गरी गहिराइसम्म उत्खनन गरिरहेका छन् । अवैध उत्खनन बारे गुनासो आएपछि गरिएको अनुगमनका क्रममा एक्स्काभेटर माटोमा गाडिएको अवस्थामा फेला परेको थियो । सोधपुछ गर्न खोज्दा चालकहरू फरार भएका थिए भने टिपरसमेत तत्कालै भागेका थिए ।
अनुगमन टोलीले नियन्त्रणमा लिएको एक्स्काभेटर स्थानीय प्रहरीलाई जिम्मा दिए पनि पछि उक्त मेसिन फेरि क्रसर उद्योगलाई नै बुझाइएको छ । नम्बर प्लेट नलगाई प्रयोग गरिएको सवारीसाधन बारे नगरपालिका समक्ष कारबाहीका लागि पत्राचार गरिए पनि सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया आएको छैन ।
नदी किनारमा रहेका क्रसर उद्योगहरू स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर १० फिट गहिरासम्म अवैध उत्खनन गरिरहेको देखिएको छ । यसरी गरिएको उत्खननले नदीको प्राकृतिक बहावमा असर पर्नुका साथै वातावरणीय जोखिम समेत बढ्दै गएको सरोकारवालाहरूले जनाएका छन् ।




