सिराहा । सिराहा गोलबजार नगरपालिका ९ स्थित सडकमा मंगलबार दिउँसो प्र २–०१–००१ क ०१७१ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको उक्त टिपरले सोही नगरपालिका ९ गोबिन्दपुर बस्ने र मोरङको गौशाला नगरपालिका ११ घर भएका हासिम मियालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ मंगलबार साँझ उनको निधन भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ ।




