सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका ८ का वडाध्यक्ष जवाहरलाल यादवमाथि गाउँकै केही स्थानीय युवाले कुटपिट गरेका छन् । विद्यालयमा दुई बालबालिका बीच भएको सामान्य विवाद मिलाउन पुगेका वडाध्यक्षमाथि आक्रमण भएको हो ।
वडाध्यक्ष यादवले आफूलाई बाटोमै रोकेर केही युवाले आक्रमण गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लिखित उजुरी दिएका छन् । प्रहरीका अनुसार घटना श्री सामाजिक विद्यालय परिसरमा घटेको हो ।
“विद्यालयमा दुई बालबालिकाको सामान्य झगडा भएको थियो । विवाद मिलाउन वडाध्यक्ष पुगेका थिए । तर विवाद उत्कर्षमा पुग्दै गएपछि उनीमाथि केही स्थानीयले हातपात गरेका रहेछन्,” जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी कर्मचारीले बताए ।
वडाध्यक्ष यादवले विवाद सुल्झाउने क्रममा आक्रोशित स्थानीय समूहले आफूमाथि आक्रमण गरेको बताएका छन् । विवाद बढ्दै गएपछि घटनास्थलमा प्रहरी टोली खटाइएको थियो ।
प्रहरीका अनुसार वडाध्यक्ष यादवको स्वास्थ्य अवस्था सामान्य छ र उनलाई गम्भीर चोटपटक लागेको छैन । घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान तथा मिलापत्रको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
घटना बारे थप बुझ्न वडाध्यक्ष यादवसँग सम्पर्क गर्ने प्रयास गरिएको भएपनि उनी उपलब्ध हुन सकेनन् । यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् ।




