सिराहा । सिराहा जिल्लाको भगवानपुर गाउँपालिका १ स्थित कल्याणपुरबाट करिब ३० किलो ९५५ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना ४२ वर्षीय काशिन्दर राम र अर्का ५० वर्षीय अशेश्वर राम रहेका छन् । उनीहरू दुबै जना भगवानपुर गाउँपालिका ५ परोलका बासिन्दा हुन् ।
बुधबार राति जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले शंकास्पद गतिविधि देखेपछि चेकजाँच गर्दा ठूलो परिमाणको गाँजा फेला परेको जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
लागूऔषधको ओसारपसार, बिक्री वितरण र प्रयोग विरुद्ध सिराहामा प्रहरीले अभियान नै सञ्चालन गरिरहेको अवस्थामा यो बरामदलाई ठूलो सफलताको रूपमा लिइएको छ । प्रहरीका अनुसार यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको छ । प्रहरीले गाँजाको स्रोत र यसको गन्तव्य बारे पनि अनुसन्धान तीव्र पारेको छ ।




