महोत्तरी । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय फणिदेव महतको स्मृतिमा वार्षिक पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बर्दिबासमा सम्पन्न प्रदेश समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले हरेक वर्ष प्रदान गरिने गरी २५ हजार रुपैयाँ राशिको फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा गरेको हो । प्रेस चौतारी मधेश प्रदेशका अध्यक्ष लालबाबु शेखका अनुसार पुरस्कारको निरन्तरताका लागि अक्षय कोष समेत गठन गरिएको छ ।
शेखले कोष सबल बनाउन प्रदेशका हरेक जिल्लाबाट ५० हजार र प्रदेश समिति स्वयंले १ लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव राखे, जसलाई बैठकले सर्वसम्मत तालीसहित अनुमोदन गरेको थियो । कोषलाई थप व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गरिने पनि उनले जानकारी दिए ।
मधेश सञ्चार सम्मेलन र एक वर्षे कार्य योजना
प्रेस चौतारी मधेश प्रदेशले आगामी फागुनमा वीरगञ्जमा “मधेश सञ्चार सम्मेलन” आयोजना गर्ने निर्णय पनि गरेको छ । सम्मेलनका साथ साथै “प्रशिक्षण वर्ष” सफल बनाउन विभिन्न पत्रकारिता तालिम र वैचारिक यात्रा कार्यक्रमहरू सञ्चालन गरिने मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मधेश प्रदेश समितिले एक वर्षे कार्य योजना तयार पारेर काम अघि बढाइरहेको छ र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
स्व. महतको परिवारसँग भेट, सहयोग हस्तान्तरण
बैठक सकिएपछि केन्द्रीय अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा प्रेस चौतारीको टोली स्व. फणिदेव महतको परिवारलाई भेट गर्न रौतहट पुगेको थियो । भेटका क्रममा अध्यक्ष पाण्डेले महतकी धर्मपत्नी सुनन्दा महतलाई समवेदना व्यक्त गर्दै उनका दुई छोराको शिक्षाका लागि संगठनले आवश्यक पहल गर्ने बताएका थिए । सोही अवसरमा प्रेस चौतारीको पहिलो बैठकमा संकलन भएको ६० हजार रुपैयाँ पनि महत परिवारलाई हस्तान्तरण गरिएको छ ।
बैठकमा उल्लेखनीय उपस्थिति
बर्दिबासमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, केन्द्रीय सदस्यहरू, पूर्व सदस्यहरू, मधेश प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरू र अग्रज पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता प्रदेश अध्यक्ष शेखले गरेका थिए भने सहजीकरण महासचिव दिवाकर भण्डारीले गरेका थिए । केन्द्रीय सदस्य सुनिता कुमारीले स्वागत मन्तव्य राखेकी थिइन् ।




