धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित सपही पुल नजिकै शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र २-०२-००२ प ५९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका १ का २८ वर्षीय उपेन्द्र पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई तत्काल ट्रमा सेन्टर अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




