सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित सडकमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ ।
शनिबार दिउँसो स १ त ५४४२ नम्बरको ट्याक्टरमा म प्र ०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका १ जमुनी मध्येपुराका १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डल गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो, तर उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अर्का एक जनालाई प्राथमिक उपचारपछि छिन्नमस्ता अस्पताल हुँदै थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर, मोरङ रिफर गरिएको छ ।
घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




