महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित शुभ स्वस्तिक अस्पताल अगाडिबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कोली निवासी ३५ वर्षीय लालबाबु साह र हरिवन नगरपालिका ३ बुद्धचोक निवासी २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बा ११ च ३४९४ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त सवारी साधनबाट ३० वटा पोकासहित करिब १५६ किलो ५५ ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा सवारीको भित्री भागमा लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्कारपियो चालक लालबाबु साह र सवारीमा सवार अभिषेक परियारलाई घटनास्थलमै नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।




