सिराहा । सिराहाको लहान नगरपालिका १ स्थित एक किराना पसलबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित नगद रकम बरामद गरिएको छ । उक्त पसल सञ्चालन गर्दै आएका लहान नगरपालिका ३ निवासी ३५ वर्षीय बिनोद कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले महतोको पसलमा तलासी गर्दा ८ ग्राम ५ सय मिलिग्राम गाँजा, नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनका चार चार एम्पुल गरी विभिन्न प्रकारका लागूऔषधहरू बरामद गरेको हो ।
त्यसका साथै पसलबाट नगद २ लाख ३ हजार ५ सय नेपाली रूपैयाँ र ९ हजार २ सय भारतीय रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । महतोमाथि लागूऔषध कारोबार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




