काठमाडौं । सिआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) को डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ कमेरोटार बस्ने तथा सूर्यविनायक नगरपालिका २ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा मंगलबार पक्राउ परेका छन् ।
अनिल थापाले आफूलाई सिआईबीको डिएसपी भनेर चिनाउँदै जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै एक व्यक्तिसँग ८ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए । सोही सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई कमेरोटार क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीमाथि ठगी गरेको कसूरमा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनले सरकारी ओहोदाको दुरुपयोग गरी ठगी गरेको र अन्य पीडितहरू पनि हुन सक्ने आशंकामा अनुसन्धानलाई थप व्यापक बनाइएको छ ।




