वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गत इटियाही र मनियारीलाई जोड्ने श्रीसिया नदीमाथिको पुल निर्माण कार्य १० वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणका लागि सडक विभागले २०७३ असार ३१ गते दुई निर्माण कम्पनीको संयुक्त लगानी (जेभी) लाई जिम्मा दिएको थियो ।
सम्झौता अनुसार दुई वर्षभित्र निर्माण कार्य सकिने भनिएको थियो । करिव ६६ लाख रुपैयाँको लागतमा सुरु भएको परियोजना अहिले ४५ प्रतिशत भौतिक प्रगति मै सीमित छ ।
सडक विभागका अनुसार, सम्झौता अवधि सकिएपछि पटक–पटक म्याद थप गर्दै २०८२ सालको असारलाई अन्तिम म्यादका रूपमा तोकिएको थियो । तर, सो म्याद नजिकिँदै गर्दा पनि निर्माण कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
स्थानीयहरूका अनुसार निर्माण कार्यका क्रममा प्रयोग गरिएको फलामे संरचना समेत चोरी हुन थालेका छन् । कामको जिम्मा पाएका दुई ठेकेदार कम्पनीबीच समन्वयको अभाव देखिँदा जिम्मेवारी एकअर्कामाथि थोपर्ने प्रवृत्तिले काम थप अलपत्र बनेको हो ।
हालसम्म पुल नबनेपनि पुल वरिपरिका नाला र कालोपत्रे काम भने सम्पन्न गरिएको छ । पुल अभावमा दैनिक यात्रा गर्ने स्थानीयवासीलाई आवतजावतमा सास्ती भोग्नु परेको छ ।
एक समय राजनीतिक तहबाट पहल गरेर सुरु गरिएको पुल निर्माणले आपसी विवाद, काम प्रतिको लापरवाही र समुचित निगरानी नहुँदा दशकसम्म पनि गति लिन सकेको छैन ।




