रौतहट । चन्द्रपुर नगरपालिका वडा नं. ५ अन्तर्गत पुरानो ट्राफिक चोकदेखि पूर्व चाँदी खोलासम्म या भनौं महेन्द्र राजमार्गको यो खण्डमा सडकको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ । खाल्डाखुल्डी, साँघुरो सडक र नियमित मर्मतको अभावका कारण स्थानीय बासिन्दा र यात्रुहरु दैनिक सास्ती खेपिरहेका छन् ।
दैनिकजसो गुड्ने सिटी सफारी, मोटरसाइकल लगायतका साना सवारी साधनहरूलाई ठूला गाडीहरूलाई साइड दिनु पर्ने बाध्यता रहेकोले दुर्घटनाको जोखिम समेत उच्च भएको छ । साँघुरो सडक र दुईतर्फी ट्राफिकको कारण धेरैजसो स्थानमा सवारी चलाउँदा तनाव र झगडा समेत हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय एक युवा भन्छन्, “दुई चार जना सहिद नबनेसम्म सडक डिभिजन कार्यालयले नजान्ने हो कि जस्तो भइसक्यो । पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । आखिर हाम्रो ज्यानको मूल्य कति हो ?”
समस्या यस्तै रहे भोलि ठूलो दुर्घटना नघट्ला भन्न सकिन्न
सडकको दुर्दशा र सवारी व्यवस्थापनको अभावले गर्दा विशेष गरी विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा तथा महिला यात्रुहरू बढी प्रभावित छन् । साँझपख सवारी चाप अत्यधिक बढ्ने हुँदा दुर्घटनाको खतरा अझ बढ्ने गरेको छ ।
स्थानीयको माग – तुरुन्तै सुधार गरियोस्
स्थानीयवासीले सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायलाई चाँडोभन्दा चाँडो सडक स्तरोन्नति र मर्मतको काम अगाडि बढाउन आग्रह गरेका छन् । उनीहरू भन्छन्- ‘जनताले तिरेको करको सदुपयोग सडक विभागले गर्नुपर्ने दायित्व हो ।’




