रौतहट । रौतहटको गौर नगरपालिका ६ स्थित सवगढा टोलमा बुधबार बिहान एकै रात तीन घरमा चोरी भएको छ । चोरी भएका घरहरूबाट नगद, सुनचाँदीका गर गहना तथा मोबाइल फोनहरू गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल गुमेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चोरीको घटना ४० वर्षीय सुरेन्द्र साह, २६ वर्षीय रञ्जित साह र ४५ वर्षीय भागरित साहको घरमा भएको हो । सुरेन्द्र साहको घरबाट नगद, सुनचाँदीका गहना र १ थान मोबाइलसहित करिब ३ लाख रुपैयाँ बराबरको सामान चोरी भएको जनाइएको छ ।
त्यसैगरी, रञ्जित साहको घरबाट झन्डै ४ लाख रुपैयाँ बराबरको नगद, गरगहना र दुई थान मोबाइल चोरी भएको छ । भागरित साहको घरबाट पनि करिब ३ लाख बराबरको धनमाल चोरी भएको बताइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय गौरले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी जारी रहेको र घटना बारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।




