बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ६ बाट बिहीबार राति प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राभेटका १ हजार ३५ ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने युवा छन् ।
पक्राउ पर्नेहरूमा कलैया २७ का १९ वर्षीय धिरेन्द्र कुशवाह, कलैया ९ का २० वर्षीय सुमन चौहान, २४ वर्षीय प्रदीप कुमार साह र कलैया ४ का २६ वर्षीय मुकेश साह कलवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साइकलमा सवार धिरेन्द्र र सुमनको साथबाट १ हजार २० वटा ट्याब्लेट बरामद गरिएको छ भने म प्र ०३००२ स ७५२८ नम्बरको अटो रिक्षा चलाइरहेका प्रदीप र अटोमा सवार मुकेशको साथबाट १५ ट्याब्लेट फेला पारिएको हो ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ । लागूऔषध कारोबारमा संलग्नहरूको पहिचान र नेटवर्क पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ ।




