रौतहट । रौतहटको माधवनारायण नगरपालिका ३ स्थित सडकमा मोटरसाइकल र सुमो गाडी एक आपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बा ३७ प ८८२२ नम्बरको मोटरसाइकललाई म प्र ०३–००१ ज ०४४८ नम्बरको सुमोले ठक्कर दिँदा गरूडा नगरपालिका १ जयनगर निवासी २२ वर्षीय इन्ताज अंसारी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका अंसारीलाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् जसको हाल वीरगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




