रौतहट । एक समय युवाहरूको रोजाइको पहिलो सूचीमा पर्ने नेपाल प्रहरीको जागिर प्रति पछिल्लो समय मोह घट्दै गएको छ । मधेश प्रदेशमा मात्रै चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ८३ जना तल्लो तहका प्रहरी कर्मचारीहरूले राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमा १ जना वरिष्ठ सई, १४ जना असई, २१ जना वरिष्ठ हवलदार, ३१ जना हवलदार, ४ जना सहायक हवलदार, ९ जना जवान र ३ जना कार्यालय सहयोगी छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्याङ्क अनुसार यी सबैले विभिन्न व्यक्तिगत र पेशागत असन्तुष्टिका कारण जागिरबाट हात झिकेका हुन् ।
कम तलब, बढी ड्युटी
प्रहरी जवानहरूको मासिक तलब खाद्यान्न भत्तासहित करिब २६ हजार रुपैयाँ मात्र हुन्छ । यस तलबमा दैनिक खर्च, पारिवारिक जिम्मेवारी र भविष्यको सुरक्षा सम्भव नहुने प्रहरी कर्मचारीहरूको गुनासो छ ।
सामान्यतया सरकारी कर्मचारीले ८ घण्टा काम गरेपछि आराम गर्न पाउँछन् तर प्रहरीले आन्दोलन, दुर्घटना, अपराध अनुसन्धानजस्ता अतिरिक्त कामको कारण दैनिक १२–१८ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था हुन्छ ।
थकान र राजनीतिक हस्तक्षेप
लामो समयसम्मको कार्यभारले मानसिक र शारीरिक थकान निम्त्याउँछ । साथै, सरुवा तथा बढुवामा पारदर्शिता नभई सिफारिस र पहुँचका आधारमा निर्णय हुने गरेको गुनासो उनीहरूमा छ । यसले तल्लो तहमा कार्यरत प्रहरीहरूमा निराशा फैलाएको छ ।
वैदेशिक रोजगारीको मोह
हालका वर्षहरूमा खाडी मुलुक र द्वन्द्वग्रस्त क्षेत्रहरूमा नेपाली सुरक्षाकर्मीको माग बढ्दो छ । तुलनात्मक रूपमा राम्रो तलब र सुविधाका कारण कतिपयले प्रहरीको जागिर छोडेर वैदेशिक रोजगारी रोज्न थालेका छन् ।
पोशाक र उपचारमा बेवास्ता
१८ घण्टा ड्युटी गर्ने प्रहरीलाई ३ वर्षमा १ जोर जुत्ता र वर्षमा २ सेट पोशाक मात्र उपलब्ध हुन्छ । कतिपयले फाटेका पोशाकमै काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
ड्युटीका क्रममा घाइते भएमा राज्यबाट उपचार खर्च नपाउने गुनासो पनि सामान्यजस्तै छ । केही प्रहरी कर्मचारीले आफ्नो खेत बेचेर उपचार गर्नुपरेको पीडा व्यक्त गरेका छन् ।
पारिवारिक जीवनमा असन्तुलन
प्रहरी जागिरले पारिवारिक जीवनमा असर पारिरहेको छ । अन्य प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा बस्नुपर्ने, बालबालिकाको शिक्षा तथा स्वास्थोपचारमा चुनौती बढ्ने जस्ता कारणले जागिर प्रति असन्तुष्टि बढेको छ ।
१६ वर्षपछि राजीनामा दिने प्रवृत्ति
प्रहरी सेवा १६ वर्ष पुरा गरेपछि पेन्सनको आधारमा राजीनामा दिने प्रवृत्ति पनि बढ्दै गएको छ । १६ वर्ष र ३० वर्ष सेवा गरेकालाई समान सुविधा हुने प्रावधानले लामो समय सेवा दिनुको प्रेरणा हराउँदै गएको छ ।
डिआईजी चतुर्वेदीको स्वीकारोक्ति
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले राजीनामा दिने संख्या देशैभर बढिरहेको स्वीकार गरे । उनले प्रहरीको तलब, राशन तथा भत्तामा आवश्यक सुधार नगरी यो समस्या समाधान नहुने बताए ।
उनले भने, “प्रहरीको छोरा छोरीको शिक्षाको ग्यारेन्टी, परिवारसहितको स्वास्थ्य उपचार, ड्युटीको घन्टाका आधारमा भत्ता र बढ्दो महँगी अनुसारको सुविधा सुनिश्चित गर्न सके प्रहरी सेवामा पुनः आकर्षण बढ्न सक्छ ।”
समाधानका लागि दीर्घकालीन नीति आवश्यक
एक जना पूर्व प्रहरी अधिकारीका अनुसार समस्या समाधानका लागि निम्न बुँदाहरूमा सुधार गर्न आवश्यक छ;
– तलब तथा सेवा सुविधामा समायोजन
– पारदर्शी सरुवा र बढुवा प्रक्रिया
– पारिवारिक जीवनसँग सन्तुलन मिल्ने नीतिको कार्यान्वयन
– पोशाक तथा सुरक्षासामग्रीको समयमै उपलब्धता
– घाइते प्रहरीको निःशुल्क उपचार व्यवस्था
यी सबै उपायको प्रभावकारी कार्यान्वयन गर्न नसकिए प्रहरी सेवा प्रति मोह घट्दै जाने र दक्ष जनशक्ति गुमाउने खतरा बढ्ने विज्ञहरूको चेतावनी छ ।




