रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
२०७८ बैशाख २४ गते सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा कार्यरत हबल्दार सुवास सिंहद्वारा चलाइएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको केही घण्टापछि मृत्यु भएको थियो ।
घटना सम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय गरुडामा २७४ नम्बरमा दर्ता भएपनि अहिलेसम्म न त दोषीमाथि कारबाही भएको छ, न त पीडित परिवारलाई क्षतिपूर्ति नै प्राप्त भएको छ ।
मृतक यादवको परिवार र स्थानीय सामाजिक अगुवाहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थानीय प्रशासन र प्रहरी निकायमाथि गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा सहभागी मृतककी पत्नी श्रीपति देवी यादव, भाइ विश्वनाथ यादव, समाजसेवी जय मंगल यादव, लक्ष्मी राय यादव, अजय कुमार यादव, उपेन्द्र यादव र रामशंकर पासवान लगायतले दोषीलाई अदालतमा पेश नगरी मिलेमतोमा मुद्दा मिलाउने प्रयास भएको प्रति कडा आपत्ति जनाए ।
पीडित परिवारले चेतावनी दिँदै भनेका छन्, “यदि छिट्टै न्याय नपायौं भने इलाका प्रहरी कार्यालय गरुडा, जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला प्रशासन कार्यालय रौतहटमा क्रमश: धर्ना कार्यक्रम सुरु गर्नेछौँ ।”
उनीहरूको आरोप अनुसार, प्रहरी नायव उपरीक्षक राजन कार्कीले आरोपी सशस्त्र हबल्दार सुवास सिंहलाई पक्राउ गरेपनि हाजिर जमानीमा छाडिएको बताएका छन् ।
मृतक यादवका छोरा राजेश यादवका अनुसार, घटनापछि केही स्थानीय नेताहरूले लास नै प्रहरी कार्यालय अगाडि राखेर आन्दोलन गर्न लागेको पीडित परिवारलाई सम्झाइबुझाइ गरी क्षतिपूर्ति दिलाउने वाचा गरेका थिए । तर, अहिले ती नेताहरू फोन समेत नउठाउने गरेको राजेशले बताएका छन् ।
त्यसैगरी, घटनामा घाइते भएका राम जिनिस साह अझै पनि उचित उपचारबाट वञ्चित छन् । पीडित परिवारले मृत्युजन्य क्षतिपूर्ति, उपचार खर्च र न्याय पाउने अधिकार राज्यले उपेक्षा गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
परिवारले भनेको छ, “यदि हामी गरीब, सर्वसाधारण भएकै कारण हामीलाई यस्तो व्यवहार गरिएको हो भने, अब चुप बस्नेवाला छैनौं । दोषीमाथि कारबाही नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।”




