धनुषा । नेपालको रेल सेवा इतिहासको प्रतीक मानिने जनकपुर–जयनगर रेल अहिले जिर्ण अवस्थामा धनुषाको खजुरीमा थन्किएको छ । भारतको जयनगरदेखि जनकपुरसम्म चल्ने यो रेल नेपालको पहिलो यात्री ट्रेनका रूपमा परिचित छ ।
लामो समयदेखि सञ्चालनमा नरहेपनि यसको ऐतिहासिक महत्वलाई दृष्टिगत गर्दै यसलाई संग्राहलयमा राख्ने योजना सरकारले पटक पटक बनाउँदै आएको थियो । तर, संरक्षणका लागि विभिन्न समयमा सार्वजनिक अभिव्यक्ति र योजना सार्वजनिक भए तापनि अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन ।
ट्रेनका डिब्बा तथा इन्जिनहरू खुला मैदानमा बेवारिसे अवस्थामा छन्, जसका कारण वर्षा र घामले गर्दा ती अझ जिर्ण हुँदै गएका छन् । स्थानीय बासिन्दाहरू र जनकपुर रेल सेवासँग जोडिएका पूर्वकर्मचारीहरूले यस सम्पदाको संरक्षणमा सरकारको गम्भीरता नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनीहरू भन्छन्, “यो हाम्रो गौरवको विषय हो, तर सरकारले बेवास्ता गरेपछि यो ऐतिहासिक धरोहर नष्ट हुँदै गएको छ ।” विशेषज्ञहरू भन्छन्, ‘नेपालको रेल सेवा इतिहासका अमूल्य पाटाहरू जोगाउन र भावी पुस्तालाई जानकारी गराउन यो रेललाई संग्रहालयमा राख्न जरुरी छ । यदि समयमै पहल गरिएन भने नेपालले आफ्ना ऐतिहासिक सम्पदा गुमाउनेछ ।’




