सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्षको अन्त्यतिर प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्दै त्यसको सट्टामा शिक्षा, स्वास्थ्य, आयुर्वेद शाखाका कर्मचारीलाई निमित्त जिम्मेवारी दिन थालेपछि विभिन्न स्थानीय तहमा विवाद चर्किन थालेको छ ।
यस्तै विवाद सप्तरीको राजविराज नगरपालिकामा हातपात र तोडफोड सम्म पुगेको छ । मन्त्रालयले उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहलाई सरुवा गरेर आठौं तहका शिक्षा शाखाका कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि स्थिति तनावपूर्ण बनेको हो ।
नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई आइतबार पदभार ग्रहण गराउन खोज्दा नगरपालिकामा झडप भएको छ । झडपका क्रममा लेखा अधिकृत शत्रुधनलाल दास कार्यालय परिसरमै कुटिएका छन् । घाइते दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
यस बाहेक, कार्यवाहक मेयर इसरत परविनलाई नगरपालिकाको कार्यालयभित्रै थुनेर प्रदर्शन गरिएको छ । निलम्बित मेयर भीमराज यादवका समर्थकहरूले परविनलाई कार्यकक्षमै थुनेको र बाहिर नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरूले कार्यालयको सिसा फुटाउनेसहित तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले लेखापाल शत्रुधनलाल दाससँगै स्वास्थ्यकर्मी सन्तोष दासमाथि पनि कुटपिट गरेका छन् । अवस्था थप उग्र बन्दै गएपछि सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यसरी मन्त्रालयको निर्णयले स्थानीय तहमा प्रशासकीय संकट उत्पन्न गराएको भन्दै कर्मचारी र जनप्रतिनिधिबीचको विवादले हिंसात्मक रूप लिन थालेको छ ।




