रौतहट । रौतहट प्रहरीले लुटपाटको उद्देश्यले योजना बनाई बसिरहेका गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ निवासी २० वर्षीय सिताराम महतो र २० वर्षीय सन्तोष महतो रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
प्रहरीका अनुसार, मंगलबार राति करिब २स्३० बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकै लुटपाट गर्ने योजनासहित केही व्यक्ति लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
उक्त गिरोहले दुर्गाभगवती गाउँपालिका ३ मसुरिया निवासी २५ वर्षीय कृष्णमणी झा सवार प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकललाई बाटोमा रोक्दै लुटपाटको प्रयास गरेका थिए ।
घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोली घटनास्थल पुगेर ती दुई जनालाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरु भने फरार रहेका छन् ।
प्रहरीका अनुसार फरार व्यक्तिहरुको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ । साथै, घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




