रौतहट । कटहरिया नगरपालिकामा खानेपानी सम्बन्धी समस्या उठाउँदै सार्वजनिक टिप्पणी गरेका पत्रकार रविन्द्र प्रजापति माथि मेयर अजय प्रकाश जयसवालबाट गालीगलौज र कुटपिट गरिएको घटना प्रति प्रेस चौतारी नेपाल रौतहट शाखाले कडा निन्दा प्रकट गरेको छ ।
प्रेस चौतारीले यस्तो गैरजिम्मेवार र पत्रकार विरोधी व्यवहारलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामा प्रहार भएको भन्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।
प्रेस चौतारीका अध्यक्ष अशोक कुमार पहाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीवनसँग जोडिएको खानेपानी जस्तो विषयमा उठाएको प्रश्नको जवाफमा गालीगलौज र कुटपिट गर्नु अस्वीकृत छ । यो काम लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको माथि गरिएको सीधा हमला हो ।’
त्यसैगरी, सञ्चारकर्मी मुकेश कुमार साहले पनि पत्रकारमाथि भएको कुटपिटको कडा भर्त्सना गर्दै भनेका छन्, ‘मेयरजस्तो गरिमामय पदमा बसेको व्यक्तिबाट अश्लील गालीगलौज मात्र होइन, पत्रकारमाथि कुटपिट गर्नु लोकतान्त्रिक मर्यादामाथिको क्रूरतम प्रहार हो । जनताको सरोकार उठाउने प्रश्नको जवाफ दिन नसक्ने नेताबाट हिंसाको जवाफ आउनु लाजमर्दो हो ।’
यो घटनाले पत्रकारहरूमाथि हिंसा र दमन बढेको विषयलाई पुनः उजागर गरेको छ भने प्रेस स्वतन्त्रताको संरक्षण आवश्यकताको मागलाई थप बलियो बनाएको छ । प्रेस चौतारी नेपाल रौतहट शाखाले दोषीमाथि कानुनी कारबाही गरी यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।





