सर्लाही । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनमा लगाइएको विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा लगाइएको भ्याट खारेजको माग राख्दै सर्लाहीका सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।
सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । सर्लाही सुनचाँदी व्यवसायी संघले सुनचाँदी गहनामा लगाइएको अनावश्यक कर फिर्ता लिन माग गर्दैे सर्लाहीमा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर, सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका माग राखेका छन् ।
‘सुनचाँदी व्यवसायी मैत्री ऐन तथा नीति नियमावली तुरुन्त जारी गरियोस्’ भन्ने मागसहित हरिवनस्थित इलाका प्रशासन कार्यालय अगाडि व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ६ प्रतिशतको दर कायम गर्न माग गर्दै सुनचाँदी व्यवसाय सञ्चालनमा भइरहेको अव्यवस्था र अन्योलको अन्त्य हुनुपर्ने बताएका छन् ।




