वीरगञ्ज । पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका २२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एचआर ५५के ३९७१ नम्बरको भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । शुक्रबार बिहान ५ बजेतिर भएको दुर्घटनामा छिपहरमाई गाउँपालिका ३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवको मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ । हाल चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




