जनकपुरधाम । जनकपुरधाम २३ स्थित शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति जनकपुरधाम २३ का ४४ वर्षीय रतन महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महतोले केही दिनअघि शहिद झाको सालिकमा चप्पल प्रहार गर्दै भिडियो खिची सो सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त घटनाले सामाजिक सञ्जालमा चर्को आलोचना र विरोध सिर्जना गरेको थियो ।
शहिद झाका समर्थक, विभिन्न संघसंस्था, युवा क्लब, राजनीतिक दल तथा जनप्रतिनिधिहरूले चप्पल प्रहार गर्ने कार्यको कडा भर्त्सना गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका थिए । उक्त घटना प्रति जनकपुरधामसहित देशभरका नागरिकहरूको ध्यानाकर्षण भएको थियो ।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले जेठ २९ गते महतो आफ्नै वडाको लादो गाउँ क्षेत्रमा डुलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई आज (जेठ ३० गते) जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
धनुषा प्रहरीले महतोमाथि आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएको छ । प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै कानुन अनुसार कारबाही अगाडि बढाउने जनाएको छ ।




