सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १० स्थित खेरी बजारको सडकमा सामान्य वर्षासँगै जलमग्न हुने समस्या देखिएको छ । स्थानीयले खिचेका तस्बिरमा हल्का पानी परेपछि सडकमा निकास नहुँदा पानी जमेर पोखरी जस्तै भएको स्पष्ट देखिन्छ ।

स्थानीय बासीका अनुसार, वर्षायाम सुरु हुन नपाउँदै पानीको निकास नभएकै कारण सडकमा हिँड्न समेत गाह्रो हुने अवस्था छ । मुख्य बजार क्षेत्र भएकाले सर्वसाधारण, विद्यार्थी, सवारी साधन र व्यवसायीहरू दैनिक रूपमा यसै सडक प्रयोग गर्ने भएपनि सरोकारवाला निकायले ध्यान नदिएको गुनासो स्थानीयको छ ।

‘यो त केवल हल्का पानी परेको परिणाम हो । यदि भारी वर्षा भयो भने बजार क्षेत्र पूरै जलमग्न हुने निश्चित छ,’ एक स्थानीयले बताए । स्थानीय वासीहरूले नगरपालिका र सरोकारवाला निकायहरूलाई यथाशीघ्र समस्याको समाधान गर्न माग गरेका छन् ।

नगरपालिकाले समयमै आवश्यक पूर्वाधार निर्माण तथा मर्मत नगरे स्थिति भयावह बन्ने स्थानीयको चिन्ता छ । तस्विर : विकास महत्तो




