बारा । बाराको कलैया उपमहानगरपालिका १४ बघवन निवासी ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया १४ बघवन टोलकी ३८ वर्षीया रन्जु जैसवाल र उनका छोराहरू २० वर्षीय सुमित जैसवाल तथा १८ वर्षीय किशोर जैसवाल रहेका छन् ।
प्रहरीका अनुसार जेठ २० गते साँझ पुरानो आपसी रिसइबीका कारण उमेशसहित ६ जनाको समूहले नन्दु राउतलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भएका राउतको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सोही दिन घटनामा संलग्न २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरिसकेको थियो ।
यस्तै अन्य फरार अभियुक्तहरूलाई खोज तलास गर्ने क्रममा रन्जु जैसवाललाई कलैया उपमहानगरपालिका ५ बाट तथा उनका दुई छोरालाई पर्सा जिल्लाको वीरगंज महानगरपालिका १ शान्ति टोलबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू उपर ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिए ।




