रौतहट । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने मुख्य चोक विगत केही समयदेखि पूर्ण रूपमा अव्यवस्थित र अस्तव्यस्त बनेको छ । स्थानीय जनप्रतिनिधिहरूले बारम्बार यस स्थानको विकास र व्यवस्थापनको प्रतिबद्धता जनाए पनि व्यवहारमा कुनै परिवर्तन देखिएको छैन ।
चोक क्षेत्रको वर्तमान अवस्था हेर्दा न त सडकको उचित मर्मत गरिएको छ, न त ढल व्यवस्थापन । हल्का वर्षामा समेत सडकमा पानी जम्ने, सडक किनारमा फोहोर थुप्रिने, विद्युत्का तारहरू झुन्डिनु र टेन्ट लगाएर गरिएका अस्थायी व्यापारिक क्रियाकलापहरूले यस क्षेत्रलाई थप जोखिमपूर्ण बनाइरहेका छन् ।
स्थानीयहरू भन्छन्, “नगरको मुटु मानिने मुख्य चोकमै यस्तो दुर्दशा छ भने अन्य वडाको अवस्था झन् कस्तो होला ?” उनीहरूको भनाइमा, दैनिक सयौं नागरिक र सवारीसाधन आवतजावत गर्ने यो स्थानको सरसफाइ, ट्राफिक व्यवस्थापन, फुटपाथ तथा विजुली संरचनाको अवस्था अत्यन्तै कमजोर देखिएको छ ।
यसअघि पनि चोक सुधारका मागहरू उठाइएका थिए । तर, जनप्रतिनिधि र प्रशासन दुबै पक्ष समस्याको स्थायी समाधान गर्न उदासीन देखिएका छन् । नगरप्रमुख तथा वडा कार्यालयको प्रभावहीनता र योजना कार्यान्वयनमा देखिएको कमजोरी प्रति सर्वसाधारण आक्रोशित छन् ।
स्थानीय युवाहरूले सामाजिक सञ्जालमा फोटोसहित टिप्पणी गर्दै भनेका छन्, “हामीलाई लाग्थ्यो चन्द्रनिगाहपुर चाँडै स्मार्ट सिटी बन्नेछ, तर अहिलेको अवस्था हेर्दा न योजना स्पष्ट छ, न कार्यान्वयन ।” अब प्रश्न उठेको छ- यो कमजोरी वडाको हो कि नगरप्रमुखको ? कहिले समाधान हुने हो नगरको यो प्रमुख चोकको दीर्घकालीन समस्या ?




