वीरगञ्ज । हिन्दू बनेर सामाजिक सञ्जालमार्फत एक नेपाली नाबालिकालाई झूटो प्रलोभन देखाउँदै भारतको राजधानी दिल्ली लैजाँदै गरेका एक मुस्लिम युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
काठमाडौंबाट केही दिनअघि बेपत्ता भएकी १३ वर्षीया बालिकालाई पूर्वी चम्पारण, बिहार निवासी शेख रिजवान आलमले स्टार मेकर एपमार्फत साथी बनाएका थिए । उनले आफूलाई हिन्दू युवकको रूपमा प्रस्तुत गर्दै बालिकासँग प्रेम सम्बन्ध स्थापना गरेका थिए । युवतीलाई राम्रो जागिर दिलाइदिने र बिहे गर्ने आश्वासन दिँदै दिल्ली लगिरहेको अवस्थामा उनलाई रक्सौल नजिकैबाट पक्राउ गरिएको हो ।
भारतको सीमा सुरक्षा बल, जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा नेपाली बालिकासहित मानव तस्कर आलमलाई पक्राउ गरिएको हो । रक्सौल कस्टम क्षेत्र नजिकै मधेसी मूलको युवक र पहाडी मूलकी बालिका सँगै देखिएपछि शंका लागेर खोजतलास गरिएको र सो क्रममा मानव तस्करीको प्रयास खुलासा भएको भारतीय सुरक्षाकर्मीहरूले बताएका छन् ।
नाबालिकाले अनुसन्धानमा रिजवानसँग दुई पटक काठमाडौंमा भेट भएको र उनीहरू प्रेम सम्बन्धमा रहेको स्वीकार गरेकी छिन् । भारतीय मानव तस्करी रोधी इकाईले किशोरीलाई सुरक्षित स्थानमा राखेको छ भने रिजवानलाई थप कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थाना बुझाइएको छ ।
मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार आरोपी रिजवान आलममाथि हरैया थानामा एफआईआर दर्ता भई अनुसन्धान जारी छ । उनले यस्ता घटनाबाट बालबालिकाको सुरक्षा गर्न नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू र सरोकारवाला संस्थाहरूलाई विशेष सतर्क रहन सुझाव दिए ।
पछिल्लो समय नेपाली बालिकाहरूलाई विभिन्न सामाजिक सञ्जाल र एपमार्फत प्रेमजालमा पारेर भारततर्फ तस्करी गर्ने घटनाहरू बढिरहेका छन् । केही दिनअघि मात्र बारा, सिम्रौनगढकी एक बालिकालाई पनि भारत लैजाने क्रममा जमुनिया क्याम्प नजिकै एसएसबीको टोलीले दुई जनालाई नियन्त्रणमा लिएर रौतहटको बंकुल प्रहरी चौकीको जिम्मा लगाएको थियो ।
सिमावर्ती क्षेत्रमा बढ्दो मानव तस्करीका घटनाले नेपाल–भारत सीमा सुरक्षाबारे गम्भीर प्रश्न उठाएका छन् । यसले नाबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न राज्य संयन्त्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूबीच थप सहकार्यको आवश्यकता औंल्याएको छ ।




