पर्सा । वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभन देखाउँदै मानव बेचबिखन तथा ओसारपसारको प्रयासमा संलग्न एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति चितवन माडी नगरपालिका ८ खर्कटा बस्ने ४१ वर्षीय दीपक खड्का हुन् ।
प्रहरीका अनुसार खडकाले ठोरी गाउँपालिका २, ठोरी बजारमा ‘फ्रि टिकट, फ्रि भिसा’ भन्दै चार जनालाई दुबई र ओमान पठाइदिने प्रलोभन देखाएका थिए । तर, ती पीडितहरूलाई भारततर्फ बेच्न लैजाँदै गरेको गोप्य सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
पक्राउसँगै प्रहरीले चारै जना पीडितहरूको पनि सकुशल उद्धार गरेको छ । घटना सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले मानव बेचबिखनजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनका लागि निरन्तर निगरानी र अनुसन्धान जारी राखिएको बताएको छ । साथै, विदेश पठाउने नाममा प्रलोभन देखाउने व्यक्तिहरू प्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।




