बारा । बारा जिल्लाको निजगढ नगरपालिका ९ स्थित सडकमा पैदल हिँडिरहेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ । सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट वृद्धको मृत्यु भएको हो ।
बा प्र ०३–०१ ख ३३१३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा निवासी ७८ वर्षीय सन्त बहादुर गुरूङको ज्यान गएको हो ।
गएराति दुर्घटनामा गम्भीर घाइते भएका गुरूङलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनासँगै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा ट्राफिक सुरक्षाका मापदण्ड पालना नगर्दा यस्ता घटना हुने गरेका छन्, त्यसैले सडक प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।




