रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित तीन जनाविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूविरुद्ध एक करोडभन्दा बढीको ठगी अभियोगमा अनुसन्धानका लागि पक्राउ अनुमति दिइएको हो ।
जग्गा कारोबारमा ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले गत जेठ १३ गते जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । अदालतले सोही अनुरूप साहसहित तीन जनालाई पक्राउ गर्न आदेश दिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।
पीडित गरुडा नगरपालिका ६ पोठियाहीका सन्तोष कुमार चौधरीका अनुसार काठमाडौं, नागार्जुन ४ निवासी विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाहीको हरिपुर ७ मा रहेको जग्गा खरिद गर्न सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार उनले किस्ताबन्दीमा गरी नगद र चेकमार्फत १ करोड ४३ लाख रुपैयाँ बुझाएका थिए । २०७८ साल भदौ १९ गते चौधरीले आफ्नो ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटेडको चेकमार्फत अरुण साहलाई १० लाख रुपैयाँ बुझाएका थिए ।
तर, बारम्बार आग्रह गर्दा पनि जग्गा पास गराउन आलटाल गर्दै आएको चौधरीको भनाइ छ । यस घटनापछि चौधरीले ठगी आरोपमा विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साहविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गरेका थिए ।
उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै जिल्ला अदालतमा अनुमति माग गरेको थियो । डिएसपी कार्कीका अनुसार ठगी प्रकरणमा संलग्न भनिएका तीनै जनालाई पक्राउ गर्ने तयारी भइरहेको छ । अदालतको आदेश अनुसार अब उनीहरूलाई कानुनी कारवाहीका लागि पक्राउ गरिनेछ ।




