बारा । बारा जिल्लाको सुवर्ण गाउँपालिका ८ पर्सुरामपुर टोलमा गए राति भीषण आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा भोज मियाँको दुई वटा घरमा एक्कासि आगलागी भएपछि क्षेत्रमा त्रास फैलिएको थियो ।
आगलागीको खबर पाएलगत्तै प्रहरी टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण यथार्थ खुलेको छैन भने घटनाको थप अनुसन्धान भइरहेको छ ।
आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्नपात, फर्निचर लगायतका सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक मूल्याङ्कनमा उल्लेख गरिएको छ ।
सुदूरवर्ती गाउँ क्षेत्रमा दमकलको पहुँच समयमै नपुग्दा क्षति बढ्ने जोखिम बढेको स्थानीयले बताएका छन् । आगलागी कसरी भयो भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




