सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवास्थित सडकमा आइतबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटनामा परेर दुबै चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा को १० प ५६२ नम्बरको मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका १ बैरवा निवासी ३४ वर्षीय ओम प्रकाश पंजियार र बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ राजपुर निवासी १९ वर्षीय अबिनाश मण्डल रहेका छन् ।
गम्भीर घाइते भएका ओम प्रकाश पंजियारलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको थियो भने अबिनाश मण्डललाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिएको थियो । तर, दुवैको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । तीव्र गतिमा सवारी चलाइएको हुन सक्ने अनुमान गरिएको छ भने स्थानीयले उक्त स्थानमा ट्राफिक व्यवस्थापन कमजोर रहेको बताएका छन् ।




