रौतहट । गौर नगरपालिकाको १६ औं नगर अधिवेशन सोमबार नगर कार्यालय परिसरमा सम्पन्न भएको छ । अधिवेशनमा नगरप्रमुख शम्भु साहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगर प्रमुख साहका अनुसार प्रस्तुत नीति तथा कार्यक्रमले गौर नगरलाई समुन्नत, सशक्त र सेवामुखी बनाउने उद्देश्य राखेको छ ।
उक्त कार्यक्रममार्फत युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य सेवा, कृषि तथा पशुपालन, उद्यमशीलता विकास, रोजगार र पर्यटन प्रवर्द्धन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार र शहरी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा जेष्ठ नागरिकको संरक्षण, सहकारी र संघसंस्था, कानुनी सेवा तथा न्याय, सार्वजनिक सेवा प्रवाह, सुशासन र क्षमता विकास, राजस्व तथा वित्तीय व्यवस्थापन लगायतका क्षेत्रलाई समेटिएको छ ।
मेयर साहले नीति तथा कार्यक्रमले स्थानीय जनतालाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले कार्यान्वयनमुखी योजना समावेश गरिएको जानकारी दिए । नगर अधिवेशनमा उपमेयर शैल देवी, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, वडा सदस्य, नगरपालिका बोर्ड सदस्य, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
गौर नगरपालिकाले आगामी वर्ष समावेशी, उत्तरदायी र दिगो विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने बताएको छ ।




