रौतहट । चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६४० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सोमबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनमा प्रस्तुत गरिएको बजेटमा अधुरा योजना सम्पन्न गर्ने र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिइएको छ ।
नगर उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट वक्तव्य प्रस्तुत गर्दै नगरभित्र निर्माणाधीन योजना छिटो सम्पन्न गरिने जानकारी दिइन् । उनका अनुसार, करिब ६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको शीतभण्डारण केन्द्र आउँदो वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिएको छ ।
साथै, बालश्रम र बालविवाहमुक्त वडा घोषणा अभियानलाई समेत प्रभावकारी रूपमा अघि बढाइने उनले स्पष्ट पारिन् । नगरप्रमुख संजय कुमार काफ्लेले प्रस्तुत बजेट जनताको आवश्यकता र मागअनुसार सबै क्षेत्र समेट्ने गरी तयार गरिएको बताए । “बजेट सर्वसाधारणको चाहना, सेवा र समग्र विकासलाई ध्यानमा राखेर विनियोजन गरिएको छ,” उनले भने ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब २५ करोड ७७ लाख रुपैयाँले बजेट घटाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले १ अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ रुपैयाँको बजेट विनियोजन गरेको थियो । अधिवेशनमा प्रदेशसभा सदस्य युवराज भट्टराईले सम्बोधन गर्दै स्थानीय विकास र पूर्वाधार निर्माणमा सबै जनप्रतिनिधिहरू एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
साथै, प्रदेश सरकारबाट निरन्तर सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे । चन्द्रपुर नगरपालिकाले यस वर्षको बजेटलाई समावेशी, परिणाममुखी र स्थानीय स्तरमै सामाजिक परिवर्तन ल्याउने दिशामा केन्द्रित गर्दै कार्यान्वयनमा लैजाने जनाएको छ ।




