सिराहा । सिराहाको भगवानपुर गाउँपालिका ४ स्थित ठाडी बजारबाट करिब ४० ग्राम ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषध सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा तथा स्थानीय प्रहरीको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने ४० वर्षीय राम नारायण साह र सोही जिल्लाको गोईत प्रसाही ग्राम पञ्चायतका २७ वर्षीय राजन बाबु साह रहेका छन् ।
प्रहरीले उनीहरूबाट लागूऔषधसहित प्रयोग गरिएको दुई थान मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । पक्राउ परेका दुबै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




